साँच्चैको फरक स्वाद भएको ‘फरक’

समकालीन पुस्ताको फरक शैलीकी लेखिका हुन् सानु शर्मा । आख्यानको क्षेत्रमा फरक पहिचान बनाएकी सानु शर्मा ६० को दशकमा आख्यानकारको रूपमा झुल्किएकी हुन् । स्वदेशी या विदेशी जुन कुनै परिवेशलाई आफ्नो कथामा आधार बनाई सिलसिला बुन्न सीपालु शर्माका अर्धविराम, जीतको परिभाषा, अर्थ, विप्लबी र उत्सर्ग जस्ता उपन्यास र एकादेशमा कथासंग्रह यसअघि प्रकाशित भइसकेका छन् । ती कृति समाजको दर्पण बनेर उभिएका छन् । उनको एकादेशमा कथा संग्रह मदन पुरस्कार (२०७६)को संक्षिप्त सूचीमा समेत परेको थियो ।

सामाजिक सञ्जालमा होहल्ला गर्ने लेखकको भीड ठूलै छ । यहाँ त लेखेर लेखक हुन भन्दा लेखेर सेलिब्रेटी हुन हतार छ सबैलाई । यस्ता सेलिब्रेटी लेखकहरूको भीडमा आफूलाई अलग्गै राख्ने लेखिका हुन् सानु शर्मा । सीमित पाठकमाझ परिचित उनी हल्लाखल्ला भन्दा चुप बस्न रुचाउने पृथक स्वभावकी लेखिका हुन् । आफ्ना रचना अब्बल भए पाठकले खोजेर पनि पढ्छन् भन्ने सोच राख्ने फरक शैलीकी लेखिका सानु शर्माको फरक स्वादको उपन्यास फरक यतिखेर नेपाली पाठकमाझ आएको छ । आफ्नै घर समाजमा हामीले देखिरहेको भोगिरहेको विषयवस्तुलाई लेखिकाले सुन्दर र सरल भाषामा उपन्यासको कथानकमा प्रस्तुत गरेकी छिन् ।

सम्बन्धहरूको अँध्यारा र उज्याला पाटाहरूलाई उत्तिकै महत्व दिएर लेखिएको यस उपन्यासमा वासु र कमलजस्ता पात्रहरू पनि छन् जसका बारेमा पढिरहँदा मनमा बारम्बार यही सोचाइले ढकढकाई रहन्छ कि वास्तविक जीवनमा पनि साथीत्व र साथी परिवार भन्दा पनि माथि हुन सक्छन् र ?

फरक उपन्यासमा पाँच जना महिला पात्रहरुको फरक स्वभाव, शैली, भोगाइ, र सोचाइको मिहिन व्याख्या गरिएको छ । उपन्यासमा हरेक पात्रको फरक फरक चरित्र र स्वभावको बारेमा यसरी वर्णन गरिएको छ, पाठकलाई ती चरित्र आफ्नै वरिपरि छरिएर बसेझैं लाग्छ । दिन प्रतिदिन देखिने, भोगिने जस्ता यी पात्रहरूले पाठकलाई उत्सुक र उत्कण्ठित बनाइरहन्छन् । उपन्यास सुरू गरेपछि ‘अब के होला ?’ भन्ने कौतुहलताले पाठकलाई तानिराख्छ । विराटनगर, पोखरादेखि काठमाडौंसम्म फैलिएको कथानकमा सम्बन्धहरूलाई यति चतुऱ्याईंपूर्वक चिरफार गरिएको छ कि सहीहरू गलत निस्कन्छन् भने गलतहरू सही बन्न पुग्छन् । यही नै उपन्यासको सबैभन्दा बलियो पक्ष हो ।

कथामा मुख्य पात्रको रुपमा उभिएको पात्र प्रत्युषमान प्रधानको कुनै बनावट र दायँबायाँ गर्न मन नपराउने खालको चरित्र हाम्रो समाजमा भएका सम्पति र शक्तिको नशामा चूर व्यक्तिहरूको भन्दा भिन्न छ । आजकल यस्ता पात्रहरूलाई सहजै पचाउन अलि मुस्किल पर्छ तर मनले कतै निको पनि मान्छ कि आख्यानमै सही यस्ता पात्रहरू अझै जीवित छन् । अथाह पैत्रिक सम्पतिको मालिक भैकन पनि आफ्नो आदर्श नछोड्नु, मानवतालाई प्राथमिकता दिनु र गलतको साथमा पनि सही हुन सक्नु उपन्यासको पात्रले बोक्ने जीवन भन्दा महत्त्वपूर्ण व्यक्तिको चरित्र हो भन्ने सन्देश दिएको छ। पाठकले पूर्ण विश्वास नगरेपनि मनमनै त्यस्ता खालका चरित्रहरूको प्रशंसा नगरी रहन सक्दैनन् ।

उपन्यासमा यस्ता चरित्र पनि छन् जो आजको समाजलाई चित्रण गर्छन् । लोभ, लालच, छल, कपट, स्वार्थ र विश्वासघातका यस्ता कथा पनि छन् जुन पढ्दा आङ जिरिङ्ग हुन्छ । सुप्रियालाई प्रत्युषमानको श्रीमतीको भूमिकामा उभ्याइएको छ । ऊ अरु कसैको प्रेममा रहँदा रहँदै सम्पति र शक्तिको अथाह छेलोखेलो भएको प्रत्युषको पछि लाग्छे । शालीनता, समानता र सौम्यता जस्ता शब्दरूलाई व्यवहारमा होइन शब्दकोशमा खोज्ने यो पुस्तामा सुप्रिया, श्रेया र सुमन्तजस्ता पात्रहरू ज्यादा सटिक र साँचाजस्ता लाग्छन् ।

बिन्तीको चरित्र पनि लगभग प्रत्युषमानकै जस्तो छ । कर्ममा विश्वाश राख्ने, गलतसँग पनि सही हुने यस्ता पात्रहरू आजकल हाम्रो समाजमा भेट्टाउन हम्मेहम्मे पर्छ । परिवारमा परेको बज्रपात र दाजुको पढाईको निम्ति आफ्नो भविष्य अन्धकार बनाएर आमाबुबालाई सघाउन घर बाहिर निस्किएकी बिन्तीलाई समाजले कुनकुन शासना र हैरानी कटाउँ छ (?) त्यसको वर्णन हृदयविदारक छ । बिन्तीको कहालीलाग्दो भोगाइले हरेक पाठकको परेलीका डिल भत्काउँछन् ।

नगरबधूबाट गृहिणी बनेकी सुभद्रा यस उपन्यासमा भएको अर्को एउटा चरित्र हो, जसले हाम्रो समाजको एउटा वर्गलाई परिभाषित गर्छ । पछुताएर, प्रायश्चित गरेर क्षमा पाईने चलन हाम्रो समाजबाट हराइसकेको प्रमाणित गर्ने यो कथाले यो सत्य उजागर गर्छ कि गल्ती गर्नेहरू यसकारण प्रायश्चित गर्दैनन्, पछुताउँदैनन् किन कि उनीहरूलाई थाहा छ, हाम्रो समाजमा गल्ती गर्नेहरूका लागि क्षमा छँदै छैन । गल्ती चाहे जानाजान गरिएको होस् या अन्जानमै भएको होस्, माफी वर्जित छ । सुध्रन चाहनेहरूलाई लखेटिरहन्छन् यो समाजले र समाजका हर्ताकर्ताहरुले । आरोप प्रत्यारोपको झीरले घोचिरहन्छन् । चरित्रमाथि औंला उठाइरहन्छन् र आत्महत्याको बाटोतिर धकेलिरहन्छन् या फेरि पुरानै बाटोमा हिँड्न बाध्य बनाइदिन्छन् । यदि त्यो पात्र महिला हो भने त झन के चाहियो र ? सत्य हो, हाम्रो समाजले बोल्ने कुरामा उदारता, छेलोखेलो भेटिन्छ तर व्यवहारमा पटक्कै भेटिन्न । सानु शर्माको फरकले पनि यही भन्छ ।

“जून उदाउँदा रात यत्तिकै सुन्दर देखिन्छ । उज्यालो त्यतिबेलाका लागि सञ्चित गर्नुपर्छ जब रात अँध्यारो हुन्छ । जब आकाशमा जून उदाएको हुँदैन । समथर बाटो सधैँभरी समथर कहिल्यै हुँदैन, अगाडि कतै न कतै उकालो, ओरालो या भिरालो पक्कै भेटिन्छ । यो बाटोको प्रवृति हो ।त्यसैले सजिलो बाटोमा पुगेपछि लठ्ठी फ्याँकिहाल्नु हुँदैन !”

“त्यतिबेला मलाई लाग्यो स्वास्नी मानिसहरू हामीजस्तै सामान्य मान्छे भए पनि आमाहरू भगवानका औतार हुन् । उनीहरू सामान्य मान्छे कदापि होइनन् । तब त उनीहरू परिस्थितिसँग मात्रै होइन, प्रकृतिसँग पनि लड्न कम्मर कस्छन् आफ्ना सन्तानका लागि ।”

उपन्यासमा यस्ता मन छुने लाइनहरू प्रशस्तै छन् जसले पाठकको मनमा गहिरो छाप छोड्न सफल छन् । उपन्यासमा कौतुहलता,मनोरञ्जन र रहस्यको कमी छैन जसले पाठकलाई पहिलो अनुच्छेददेखि नै बाँधेर राख्न सफल छ । तर यदि शिक्षा, उपदेश र आदर्श खोजेर उपन्यास पढ्ने हो भने केही भन्न सकिन्न । आख्यानकारकै शब्दमा म शिक्षा दिनका लागि लेख्दिनँ, तर यदि मेरो लेखनीले कसैलाई प्रभावित गर्छ र त्यसबाट उनीहरूले कुनै शिक्षा लिन्छन् भने, त्यो पाठकको खुबी हो, मेरो होइन । यस उपन्यासमा पनि सिक्नका लागि धेरै कुरा छन् । कमसेकम एउटा पाठकका रूपमा म यति चाहिँ मान्छु कि हरेक महिलालाई सम्मान गर्नु पर्छ, चाहे त्यो महिला नगरवधू नै किन नहोस् । जनावरलाई समेत माया गरेर पाल्ने हाम्रो समाजमा मानिसको स्तर औकात र लिङ्ग हेरेर व्यवहार गरिनु दुर्भाग्यपूर्ण र दुःखद छ ।

कथानकमा म पात्रको प्रयोग छ । उत्तमपुरुष दृष्टिविन्दु, आत्मकेन्द्रित शैलीमा यो उपन्यास लेखिएको छ । आफै कथानकमा पसेर सानुले कथानकको उहापोह वर्णन गरेकी छन् ।

मैले सानु शर्माका प्राय सबै किताब पढेको छु। मलाई उनको लेख्ने शैली मन पर्छ तर उनको लेखाइमा आउने नाटकीय सन्दर्भहरू पढ्नमा चाख लाग्दा भएपनि तिनले लामो समय सम्म असर छोड्दैनन् । भविष्यमा उनले यस्ता नाटकीय कथालाई भन्दा समाजसँग गहिरोगरी जोडिएका समास्याहरूलाई लिएर कलम चलाइन् भने उनको स्थान अग्रस्थानमा रहेका लेखकहरूको श्रेणीमा अझै दह्रोसँग दरिनेमा कुनै सन्देह छैन ।

किताबको बारेमा अर्को चित्त नबुझेको कुरा भनेको चर्को मूल्य पनि हो । प्रकाशकले थोरै किताब छापेर महँगो मूल्य तोक्नुभन्दा उचित मूल्य राखेर धेरै पाठकहरू माझ यो पुस्तक पुग्ने मौका जुराईदिएको भए अझै बेस हुने थियो ।

सानु शर्मालाई फरक स्वादको ‘फरक’ उपन्यासका लागि हार्दिक बधाई साथै अब आउने पुस्तकका लागि अग्रीम शुभकामना !

प्रकाशक:- सांग्रिला बूक्स

पृष्ठ:-३५१

मूल्य-६६६

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट